काठमाडौं । सुकुम्वासी बस्ती हटाउने अभियानको विरोधमा शुक्रबार माइतीघर मण्डला मा प्रदर्शन गरिएको छ । विभिन्न सुकुम्वासी समुदायका प्रतिनिधिहरूले सरकार र काठमाडौं महानगरपालिका विरुद्ध नाराबाजी गर्दै विरोध जनाएका हुन् ।

प्रदर्शनकारीहरूले बस्ती हटाउँदा वैकल्पिक व्यवस्थाबिनै डोजर चलाइएको आरोप लगाएका छन् । उनीहरूले चम्चा र थाल बोकेर विरोध प्रदर्शन गर्दै विकासको नाममा आफूहरूलाई विस्थापित गरिएको बताएका थिए ।

प्रदर्शनमा सहभागीहरूले “विकासको नाममा विस्थापन बन्द गर”, “सुकुम्वासी जनता सडकमा” लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए । बस्ती हटाउने कार्यले हजारौं नागरिक घरबारविहीन बनेको उनीहरूको दाबी छ ।

प्रदर्शनकारीहरूले सुकुम्वासी समुदायको अधिकार सुनिश्चित गर्न, सुरक्षित आवासको व्यवस्था गर्न तथा बलपूर्वक हटाउने कार्य तत्काल रोक्न माग गरेका छन् ।

पछिल्लो समय काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण हटाउने अभियान तीव्र बनेसँगै सुकुम्वासी समुदाय र स्थानीय सरकारबीच विवाद चर्किँदै गएको छ ।