काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि आंशिक बदली रहनेछ भने तराईका अधिकांश क्षेत्रमा आंशिक बदलीको अवस्था रहनेछ।
विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको छ। अन्य प्रदेशका एक–दुई स्थानमा पनि हल्का वर्षा हुन सक्ने विभागले जनाएको छ।
आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली कायम रहने अनुमान गरिएको छ भने अन्य भूभागमा आंशिक बदली रहनेछ।
महाशाखाका अनुसार कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मध्यम वर्षा हुन सक्नेछ। साथै उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन आग्रह गरिएको छ।
विभागले मेघगर्जन, चट्याङ र वर्षाका कारण दैनिक जनजीवन तथा यात्रा प्रभावित हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।

