काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शुक्रबार राति सम्पन्न खेलमा गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई ७७ रनले पराजित गर्दै महत्वपूर्ण जित हात पारेको छ।

गुजरातले दिएको २ सय ३० रनको विशाल लक्ष्य पछ्याएको राजस्थान १६ ओभर ३ बलमा सबै विकेट गुमाउँदै १ सय ५२ रनमा समेटियो।
राजस्थानका लागि रविन्द्र जडेजाले सर्वाधिक ३८ रन बनाए भने वैभव सूर्यवंशीले ३६ रन जोडे। ध्रुव जुरेलले २४, दसुन शनकाले १६ तथा शुभम दुबेले १५ रनको योगदान दिए पनि टोलीलाई जित दिलाउन पर्याप्त भएन।

गुजरातको बलिङतर्फ राशिद खान चम्किए। उनले ४ विकेट लिएर राजस्थानको ब्याटिङ लाइनअप ध्वस्त पारे। जेसन होल्डरले ३ तथा कागिसो रबाडाले २ विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय २९ रनको विशाल योगफल तयार गरेको थियो।
गुजरातका कप्तान शुभमन गिलले उत्कृष्ट ८४ रनको पारी खेले भने साई सुदर्शनले ५५ रन बनाए। वासिङ्टन सुन्दरले ३७ रन जोड्दै टोलीको स्कोर बलियो बनाउन सहयोग गरे।

राजस्थानका ब्रिजेश शर्माले २ विकेट लिए भने रविन्द्र जडेजा र यश पुञ्जाले समान १–१ विकेट हात पारे।
यस जितसँगै गुजरात टाइटन्सले ११ खेलबाट १४ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा आफ्नो पकड मजबुत बनाएको छ। पराजित राजस्थान रोयल्स भने समान खेलबाट १२ अंकसहित पाँचौँ स्थानमा रहेको छ।