काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा सार्वजनिक गर्ने सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ। बोर्डले आइतबार सूचना जारी गर्दै नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा विभिन्न डिजिटल माध्यमबाट सहज रूपमा प्राप्त गर्न सकिने जानकारी दिएको हो।

बोर्डका अनुसार परीक्षार्थी तथा अभिभावकहरूले एसएमएस, आइभीआर, यूएसएसडी सेवा तथा आधिकारिक वेबसाइटमार्फत नतिजा हेर्न सक्नेछन्। नतिजा सार्वजनिक भएपछि विद्यार्थीहरूले आफ्नो सिम्बोल नम्बर प्रयोग गरी मार्कसिटसहितको विवरण प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको छ।

नेपाल टेलिकमको ‘१६००’ सर्टकोडमार्फत एसएमएस, यूएसएसडी तथा आइभीआर सेवा प्रयोग गरेर नतिजा हेर्न सकिनेछ। त्यसैगरी, जानकी टेक्नोलोजी प्रा.लि.को ‘३५००१’ तथा एम्बिसन गुरु प्रा.लि.को ‘३१०६१’ नम्बरमा एसएमएस पठाएर पनि नतिजा प्राप्त गर्न सकिने बोर्डले जनाएको छ।

वेबसाइटमार्फत नतिजा हेर्न चाहने विद्यार्थीहरूका लागि राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयलगायत विभिन्न निजी क्षेत्रका पोर्टलहरूलाई पनि अनुमति दिइएको छ। विद्यार्थीहरूले खल्ती, कान्तिपुर पब्लिकेसन्स, इडियु सञ्जाल, कलेज इन्फो नेपाल तथा द कनेक्ट प्लससहित १४ वटा वेबसाइटमार्फत मार्कसिटसहितको नतिजा हेर्न सक्नेछन्।

बोर्डले नतिजासम्बन्धी भ्रम फैलिन सक्ने भएकाले आधिकारिक तथा प्रमाणित स्रोतबाट मात्र जानकारी लिन सबै विद्यार्थी, अभिभावक र सरोकारवालालाई आग्रह गरेको छ।