काठमाडौँ । सी जोसेफ विजय थलापतिले तमिलनाडुको मुख्यमन्त्री पद सम्हालेसँगै जनहितसँग सम्बन्धित तीन महत्वपूर्ण निर्णयमा हस्ताक्षर गरेका छन्। शपथ ग्रहणलगत्तै उनले २०० युनिट निःशुल्क बिजुली उपलब्ध गराउने, महिलाको सुरक्षाका लागि विशेष कार्यदल गठन गर्ने तथा लागूऔषध नियन्त्रणका लागि प्रत्येक जिल्लामा विशेष बल स्थापना गर्ने निर्णय अनुमोदन गरेका हुन्।
जवाहरलाल नेहरू स्टेडियममा आयोजित कार्यक्रममा पहिलो सम्बोधन गर्दै विजयले आफ्नो नेतृत्वमा “वास्तविक धर्मनिरपेक्षता र सामाजिक न्याय” आधारित शासनको नयाँ युग सुरु भएको बताएका छन्। उनले आफू कुनै राजनीतिक वंशबाट नआएको उल्लेख गर्दै अब सत्ता जनतामै केन्द्रित हुने बताएका हुन्।
विजयले सरकार गठनमा समर्थन गर्ने भारतीय राष्ट्रिय कांग्रेस, विदुथलाई चिरुथिगल काची, भारतीय युनियन मुस्लिम लिग तथा वामपन्थी दलहरूलाई धन्यवाद दिएका छन्। उनले विशेष रूपमा युवापुस्ता र बालबालिकाको समर्थनले आफ्नो पार्टीको जित सम्भव भएको बताएका छन्।
यसैबीच, नरेन्द्र मोदी ले विजयलाई तमिलनाडुको मुख्यमन्त्री बनेकोमा बधाई दिएका छन्। उनले केन्द्र सरकार र राज्य सरकारबीच सहकार्य जारी रहने विश्वास व्यक्त गरेका छन्।
त्यस्तै, मल्लिकार्जुन खरगे ले पनि विजयको नेतृत्वले तमिलनाडुको राजनीतिक तथा सामाजिक मूल्यलाई अझ सुदृढ बनाउने अपेक्षा व्यक्त गरेका छन्।

