काठमाडौं । नेपाल क्रिकेट संघले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीसम्बन्धी छानबिनमा असहयोग गरेको भन्दै युवा तथा खेलकुद मन्त्रालयले कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ।

मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद लाई पत्राचार गर्दै क्यानसँग अन्तिम पटक स्पष्टीकरण माग गरी आवश्यक कारबाही प्रक्रिया सुरु गर्न निर्देशन दिएको हो। वैशाख १४ गते पठाइएको उक्त पत्र राखेपले प्राप्त गरिसकेको जनाएको छ।

मन्त्रालयका अनुसार अख्तियारमा २०८१ मंसिर ७ र २०८१ फागुन १२ गते दर्ता भएका उजुरीका आधारमा छानबिन समिति गठन गरिएको थियो। सचिवस्तर तथा मन्त्रीस्तरीय निर्णयपछि मन्त्रालय र परिषदले क्यानसँग सम्बन्धित अभिलेख तथा कागजात माग गरे पनि आवश्यक सहयोग प्राप्त नभएको आरोप लगाइएको छ।

पत्रमा खेलकुद विकास ऐन २०७७ को दफा २८ अनुसार मन्त्रालय तथा परिषदलाई आवश्यक श्रेस्ता र अभिलेख उपलब्ध गराउनु क्यानको कानुनी दायित्व भए पनि उक्त व्यवस्था पालना नभएको उल्लेख गरिएको छ।

मन्त्रीस्तरीय निर्णयअनुसार अब क्यानलाई अन्तिम चेतावनीसहित स्पष्टीकरण सोधिनेछ। साथै, खेलकुद विकास ऐन २०७७ को दफा २९ बमोजिम कारबाही तथा निलम्बनसम्मको प्रक्रिया किन अघि नबढाउने भन्ने विषयमा स्पष्ट जवाफ माग गर्न राखेपलाई निर्देशन दिइएको मन्त्रालयले जनाएको छ।