काठमाडौं । रवि लामिछानेले आफ्नो राजनीतिक अभियान कुनै व्यक्तिगत छवि निर्माण वा जीवनी लेख्ने उद्देश्यमा सीमित नभई देशको राजनीतिक इतिहासमा नयाँ अध्याय थप्ने दिशामा अघि बढेको बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी द्वारा सांसदहरूका लागि आयोजित दुई दिने प्रशिक्षण कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै उनले नेतृत्वको मूल्य पद वा शक्ति प्राप्तिमा नभई राष्ट्रलाई दिइने दिशा र प्रभावमा निर्भर रहने धारणा व्यक्त गरेका हुन।

उनले मन्त्री, प्रधानमन्त्री वा अन्य उच्च पद प्राप्त गर्नु मात्र सफल राजनीतिक यात्राको मापदण्ड हुन नसक्ने उल्लेख गर्दै राज्य सञ्चालनमा पारदर्शिता, जवाफदेहिता र जनविश्वास स्थापित गर्न सक्ने नेतृत्व नै वास्तविक राजनीतिक उपलब्धि हुने बताए। लामिछानेले आफू पदकेन्द्रित राजनीतिभन्दा दीर्घकालीन परिवर्तनमुखी अभ्यास निर्माणमा केन्द्रित रहेको स्पष्ट पारेका छन।

उनका अनुसार अहिलेको राजनीतिक परिस्थिति परम्परागत शैलीबाट अघि बढ्न सक्ने अवस्थामा नरहेको भन्दै नयाँ पुस्ताले वैकल्पिक सोच, व्यवहार र कार्यशैलीमार्फत जनतामा भरोसा सिर्जना गर्नुपर्ने आवश्यकता छ। उनले रास्वपाको उदयलाई समाजमा बढ्दो परिवर्तनको चाहना र नागरिक असन्तुष्टिको परिणामका रूपमा व्याख्या गरेका छन।

सभापति लामिछानेले सांसदहरूलाई निरन्तर अध्ययन, संवाद र अनुभव आदानप्रदानमार्फत आफ्नो क्षमता विकास गर्न आग्रह गर्दै संसद् केवल बहस गर्ने थलो नभई जनअपेक्षालाई नीति र व्यवहारमा रूपान्तरण गर्ने जिम्मेवार संस्था भएको बताएका छन।

उनले संसदीय अभ्यासलाई अझ मर्यादित, प्रभावकारी र उत्तरदायी बनाउनुपर्ने आवश्यकता औंल्याउँदै राजनीतिक दलहरूबीच स्वस्थ प्रतिस्पर्धा र सहकार्यको संस्कृति विकास गर्नुपर्नेमा जोड दिएका हुन।

कार्यक्रममा सहभागी सांसदहरूलाई सम्बोधन गर्दै लामिछानेले परिवर्तन एक दिनमा सम्भव नहुने तर निरन्तर प्रयास, स्पष्ट दृष्टिकोण र जनतासँगको विश्वासमार्फत नयाँ राजनीतिक संस्कार स्थापित गर्न सकिने विश्वास व्यक्त गरे।