काठमाडौं । सार्वजनिक सेवा प्रवाहलाई थप व्यवस्थित, स्वच्छ र वातावरणमैत्री बनाउन सरकारले आजदेखि देशभरका सरकारी कार्यालयमा ‘राष्ट्रिय सरसफाइ सप्ताह’ अभियान सुरु गरेको छ। अभियानको औपचारिक शुभारम्भ स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहेताले वीर अस्पतालबाट गरेकी हुन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको विशेष मार्गदर्शनअनुसार जेठ १ गतेसम्म संघ, प्रदेश र स्थानीय तहका सबै सरकारी कार्यालयमा सरसफाइसम्बन्धी विशेष कार्यक्रम सञ्चालन गरिनेछ।
सरकारले ‘सरसफाइ सप्ताह सञ्चालनसम्बन्धी मार्गदर्शन, २०८३’ जारी गर्दै न्यून लागतमा अधिकतम प्रभाव पार्ने गरी कार्यालयहरूको सरसफाइ स्तर सुधार गर्ने लक्ष्य लिएको जनाएको छ। नियमित सरसफाइ र फोहोर व्यवस्थापनको अभावले सेवा प्रवाहसँगै कर्मचारी तथा सेवाग्राहीको स्वास्थ्यमा नकारात्मक असर परेको निष्कर्षपछि यो अभियान अघि बढाइएको हो।
मार्गदर्शनअनुसार सबै सरकारी कार्यालयमा सूचना बोर्ड, नागरिक बडापत्र र सङ्केत चिह्नहरू स्पष्ट र व्यवस्थित राख्नुपर्नेछ। चर्किएका भित्ताहरूको मर्मत, रङरोगन तथा मुख्य प्रवेशद्वार र सेवा क्षेत्रलाई सफा र आकर्षक बनाइनेछ।
त्यस्तै, सबै शौचालयलाई दुर्गन्धरहित बनाउन नियमित पानी, साबुन र दैनिक सफाइ अभिलेख अनिवार्य गरिएको छ। महिलामैत्री, ‘स्यानिटरी डिस्पोजल’ सुविधा र सम्भव भएसम्म अपाङ्गतामैत्री शौचालय निर्माणमा पनि जोड दिइएको छ।
कार्यालय परिसरमा कुहिने र नकुहिने फोहोर छुट्याउन कम्तीमा दुई प्रकारका डस्टबिन राख्नुपर्ने, पुराना तथा काम नलाग्ने सामग्रीको उचित व्यवस्थापन गर्नुपर्ने तथा खुला रूपमा फोहोर जलाउन पूर्ण प्रतिबन्ध लगाइएको छ।
यसैगरी, कार्यालय परिसर वरपर १०० मिटर क्षेत्रभित्रका नाली, ढल तथा पार्किङ क्षेत्र सफा राख्ने, अव्यवस्थित तार र पोस्टर हटाउने तथा सेवाग्राहीका लागि हेल्प डेस्क स्थापना गरी सम्मानजनक वातावरण सुनिश्चित गर्ने व्यवस्था पनि गरिएको छ।
सरकारले यो अभियानलाई केवल एक साताको कार्यक्रम नभई दीर्घकालीन संस्थागत सुधारको आधारका रूपमा अघि बढाइने जनाएको छ।

