काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसद्को संयुक्त बैठकलाई गर्ने सम्बोधन मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ। सोमबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिले गर्ने सम्बोधन अनुमोदन गरेको हो।

सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलका अनुसार नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपति पौडेलले संवत् २०८३ साल वैशाख २८ गते अपराह्न ४ बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।

संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक सिंहदरबारस्थित प्रतिनिधिसभा कक्ष (बहुउद्देश्यीय हल)मा बस्नेछ।

राष्ट्रपतिले सरकारको नीति तथा प्राथमिकता, समसामयिक राष्ट्रिय विषय र आगामी कार्यदिशाबारे संसद्मार्फत देशलाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ।

संविधानअनुसार राष्ट्रपतिले संघीय संसद्को अधिवेशन प्रारम्भ हुँदा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था रहेको छ। आजको सम्बोधनलाई चालु राजनीतिक परिस्थिति र सरकारको आगामी रणनीति सार्वजनिक गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।