काठमाडौं । स्नो रिभर्स लिमिटेडले आज (मंगलबार) देखि सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन (आईपीओ) खुला गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गरी बाँडफाँट सम्पन्न गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि बिक्री खुला गरेको हो।
कम्पनीले जारी पुँजी ९३ करोड ७५ लाख रुपैयाँको २० प्रतिशत बराबर कुल १८ लाख ७५ हजार कित्ता सेयर निष्कासन गर्न अनुमति प्राप्त गरेको थियो। यसमध्ये ९ लाख ३७ हजार ५०० कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई तथा ९३ हजार ७५० कित्ता श्रम स्वीकृति प्राप्त गरी विदेशमा रहेका नेपालीहरूलाई छुट्याइएको थियो।
त्यसैगरी, ४६ हजार ८७५ कित्ता सामूहिक लगानी कोषका लागि र १८ हजार ७५० कित्ता कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरी बाँडफाँट गरिसकिएको छ।
अब कम्पनीले दोस्रो चरणअन्तर्गत प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ७ लाख ७८ हजार १२५ कित्ता साधारण सेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्कासन गरेको हो। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।
आईपीओमा जेठ १ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्म मागअनुसार आवेदन नपरेमा बिक्री अवधि जेठ १२ गतेसम्म लम्ब्याइने कम्पनीले जनाएको छ।
कम्पनीलाई इक्रा नेपाल ले ‘इक्रा एनपी इस्युअर रेटिङ डबल बी प्लस’ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा सानिमा क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयमार्फत सी–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।

