काठमाडौं । सस्मित पोखरेलले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा एक महिनामै सार्वजनिक हुनु राज्य संयन्त्रको प्रभावकारी कार्यसम्पादन र सामूहिक प्रतिबद्धताको उदाहरण भएको बताएका छन्।

एसईई नतिजा सार्वजनिक भएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै मन्त्री पोखरेलले समयमै सेवा प्रवाह गर्ने सरकारको लक्ष्य सफल भएको उल्लेख गरेका हुन्। उनले लाखौँ विद्यार्थी तथा अभिभावकको लामो प्रतीक्षालाई छोटो अवधिमै सम्बोधन गर्न सफल भएकोमा खुसी व्यक्त गरेका छन्।

मन्त्री पोखरेलले परीक्षा व्यवस्थापन र नतिजा प्रकाशन प्रक्रियामा खटिएका शिक्षक, कर्मचारी, राष्ट्रिय परीक्षा बोर्ड तथा सुरक्षा निकायप्रति आभार व्यक्त गरेका छन्। परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने व्यवस्था लगायतका सुधारात्मक प्रयासले नतिजा छिटो सार्वजनिक गर्न सम्भव भएको उनको भनाइ छ।

एसईईमा सफल भएका विद्यार्थीहरूलाई बधाई दिँदै उनले अब यही सुधारको गति कक्षा ११–१२, स्नातक तथा स्नातकोत्तर तहसम्म विस्तार गरिने बताएका छन्। परीक्षा प्रणालीलाई थप व्यवस्थित, विश्वसनीय र विद्यार्थीमैत्री बनाउन मन्त्रालय प्रतिबद्ध रहेको उनले उल्लेख गरे।

त्यस्तै, अपेक्षाअनुसार नतिजा ल्याउन नसकेका विद्यार्थीलाई निराश नहुन आग्रह गर्दै मन्त्री पोखरेलले धैर्यता, निरन्तर प्रयास र आत्मविश्वास नै सफलताको मुख्य आधार भएको बताएका छन्।