काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री सदनबाट बाहिरिएको घटनाप्रति संसदमा कडा आपत्ति जनाएको छ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै कांग्रेस सांसद वासना थापा ले प्रधानमन्त्रीको उक्त व्यवहारले संसदीय मर्यादा र संवैधानिक संस्कारमाथि प्रश्न उठाएको बताइन्।
उनले सोमबार संघीय संसद्को संयुक्त बैठकमा रामचन्द्र पौडेल ले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकै समयमा प्रधानमन्त्री बालेन्द्र शाह सदनबाट बाहिरिएको दृश्य अस्वाभाविक र अशोभनीय भएको टिप्पणी गरिन्।
सांसद थापाले सरकारकै नीति तथा कार्यक्रम प्रस्तुत भइरहेका बेला सरकार प्रमुख नै सदनमा उपस्थित नरहनुले सरकारको गम्भीरतामाथि प्रश्न उठेको उल्लेख गर्दै प्रधानमन्त्रीले यस विषयमा संसदमा स्पष्ट धारणा राख्नुपर्ने माग गरिन्।
उनले लोकतान्त्रिक व्यवस्थामा पदभन्दा ठूलो संवैधानिक मर्यादा हुने उल्लेख गर्दै संवैधानिक संस्थाप्रति सम्मान कायम राख्न र संसदीय परम्परालाई कमजोर पार्ने गतिविधिबाट जोगिन सरकारलाई सचेत गराइन्।
कांग्रेसले उक्त घटनालाई सामान्य रूपमा लिन नसकिने बताउँदै सरकारले सार्वजनिक रूपमा आफ्नो धारणा स्पष्ट पार्नुपर्ने जनाएको छ।

