काठमाडौं । भिष्मराज आङ्देम्बेले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहेका बेला प्रधानमन्त्री सदनबाट बाहिरिएको घटनाले संसद्को गरिमा र देशको प्रतिष्ठामाथि प्रश्न उठाएको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै आङ्देम्बेले आफ्नै सरकारको नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत भइरहँदा प्रधानमन्त्री बीचमै उठेर हिँडेको घटना विश्वमै विरलै देखिने टिप्पणी गरे । उनलेे व्यंग्य गर्दै यस्तो व्यवहार “गिनिज बुकमा लेखिने खालको रेकर्ड” भएको बताए ।

उनले प्रधानमन्त्रीको व्यवहारप्रति दुःख व्यक्त गर्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको उल्लेख गरे । यद्यपि प्रधानमन्त्री स्वास्थ्य समस्याका कारण बाहिरिएको हुन सक्ने सम्भावनासमेत औंल्याउँदै उनले सरकारले त्यसबारे स्पष्ट जानकारी दिनुपर्ने माग गरे ।

“यदि प्रधानमन्त्रीको स्वास्थ्यमा कुनै गम्भीर समस्या आएको हो भने तत्काल स्वास्थ्य परीक्षण गरी संसद्लाई जानकारी गराउनुपर्छ,” उनले भने ।

आङ्देम्बेले प्रधानमन्त्री कुनै एक दलको मात्र नभई समग्र देशको साझा जिम्मेवारी बोकेको पद भएको उल्लेख गर्दै सार्वजनिक व्यवहारमा थप संयम र मर्यादा आवश्यक रहेको बताए । उनले प्रधानमन्त्रीको पछिल्लो व्यवहारले जनताको मन दुःखी भएको र संसद्को सम्मानमा असर पुगेको टिप्पणी गरे ।

उनले सभामुखको भूमिकामाथिसमेत प्रश्न उठाउँदै संसद्लाई गरिमामय बनाइराख्न प्रभावकारी भूमिका देखिन नसकेको बताए ।