काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा आयोजना गर्ने निर्णय गरेको छ। शुक्रबार बिहान बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति र स्थान टुंगो लगाएको हो।
पार्टीका नेता गणेश पराजुलीले केन्द्रीय समिति बैठकबाट चितवनमा तीनदिने महाधिवेशन गर्ने निर्णय भएको जानकारी दिएका छन्। यसअघि पार्टी सभापति Rabi Lamichhaneले असार ६, ७ र ८ गते महाधिवेशन गर्न प्रस्ताव गरेका थिए। तर छलफलपछि एक दिन सार्दै असार ७ देखि ९ गतेसम्म गर्ने निर्णय गरिएको हो।
महाधिवेशनको तयारी तथा अन्य समसामयिक एजेण्डामाथि छलफल गर्न रास्वपाले पार्टी कार्यालय बनस्थलीमा केन्द्रीय समिति बैठक आयोजना गरेको छ।
यसअघि रास्वपाले निर्वाचन सम्पन्न भएको ६ महिनाभित्र महाधिवेशन सम्पन्न गर्ने सैद्धान्तिक निर्णय गरेको थियो। सोही निर्णयअनुसार पार्टीले भदौभित्र महाधिवेशन सम्पन्न गर्नुपर्ने भए पनि अब असारमै पहिलो महाधिवेशन गर्ने निश्चित भएको छ।
२०७९ सालमा स्थापना भएको रास्वपाले पहिलो महाधिवेशनमार्फत संगठन विस्तार, नेतृत्व चयन तथा आगामी राजनीतिक रणनीति तय गर्ने अपेक्षा गरिएको छ।