काठमाडौं । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको अनुपस्थितिलाई लिएर सांसदहरूले आपत्ति जनाएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्री सदनमा उपस्थित नभएको भन्दै सभामुखको ध्यानाकर्षण गराएका हुन् ।
राईले नीति तथा कार्यक्रममाथिको छलफल चलिरहेका बेला प्रधानमन्त्री स्वयं उपस्थित भएर उठेका प्रश्नहरूको जवाफ दिनुपर्ने बताए । उनले प्रधानमन्त्री लगातार सदनमा अनुपस्थित रहनुले संसद्को गरिमामाथि प्रश्न उठेको टिप्पणी गरे ।
“आज पनि अवस्था उस्तै छ । प्रधानमन्त्रीलाई सदनमा देख्न सकेका छैनौँ । नीति तथा कार्यक्रममा उठेका विषयमा जवाफ दिने कार्यसूची छ, तर प्रधानमन्त्री उपस्थित हुनुहुन्न,” राईले भने ।
उनले सभामुखले संसद्को गरिमा जोगाउने जिम्मेवारी निर्वाह गर्नुपर्ने उल्लेख गर्दै तत्काल रुलिङ गरेर प्रधानमन्त्रीलाई बैठकमा उपस्थित गराउन माग गरे ।
“सभाको इज्जत र गरिमा कायम राख्ने भूमिका सभामुखको हो । प्रधानमन्त्रीलाई तत्काल सदनमा बोलाउन रुलिङ गर्न हार्दिक अनुरोध गर्दछु,” उनले भने ।
प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर सत्ता र प्रतिपक्षी दलका सांसदहरूबीच समेत चासो बढिरहेको छ ।

