काठमाडौं । विश्वका दुई शक्तिशाली मुलुक अमेरिका र चीनका नेताबीच बेइजिङमा भएको उच्चस्तरीय भेटवार्ताले अन्तर्राष्ट्रिय कूटनीतिमा नयाँ चर्चा सुरु गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिन फिङबीचको भेटमा आपसी सम्बन्ध, विश्व राजनीति र सहकार्यका सम्भावनाबारे खुला संवाद भएको हो।

बेइजिङमा ट्रम्पको सम्मानमा आयोजित विशेष स्वागत समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति सीले वर्तमान विश्व अनेक जटिल समस्याले घेरिएको उल्लेख गर्दै शक्तिशाली राष्ट्रहरूबीचको सुमधुर सम्बन्धले ती चुनौती समाधान गर्न सक्ने बताए।

उनले भने, ‘संसार अहिले धेरै जटिल समस्याले जेलिएको छ, तर शक्तिशाली देशहरूबीच राम्रो सम्बन्ध हुँदा ती समस्या समाधानको बाटो खुल्छ। चीन र अमेरिकाले ठूला राष्ट्रहरूबीच पनि सहकार्य र विश्वास सम्भव छ भन्ने सन्देश दिन सक्छन्।’
सीको भनाइपछि संक्षिप्त प्रतिक्रिया दिएका राष्ट्रपति ट्रम्पले आफ्नो स्वागतमा देखाइएको आतिथ्यको खुलेर प्रशंसा गरे। उनले चिनियाँ सेनाको मार्चपास र स्वागत कार्यक्रममा सहभागी बालबालिकाको उत्साहले आफू प्रभावित भएको बताएका छन् ।

‘सेनाको प्रदर्शन प्रभावशाली थियो, तर बालबालिकाहरू अद्भुत थिए। उनीहरूले तपाईंको देशको आत्मा प्रतिनिधित्व गर्छन्,’ ट्रम्पले सीतर्फ संकेत गर्दै भने।
त्यसक्रममा ट्रम्पले सीलाई ‘महान् नेता’ को संज्ञा दिँदै दुई देशबीचको सम्बन्धलाई विश्वकै सबैभन्दा महत्वपूर्ण सम्बन्धमध्ये एक भएको बताए।
‘हामी दुई देश र दुई नेताबीचको सम्बन्ध निकै महत्वपूर्ण छ। यो वार्ता विश्वकै सबैभन्दा ठूलो कूटनीतिक संवाद हो। यहाँ आउन पाउँदा म सम्मानित महसुस गरिरहेको छु,’ उनले भने।

लामो अन्तरालपछि भएको यो उच्चस्तरीय भेटलाई विश्व समुदायले चासोका साथ हेरेको छ। व्यापारिक तनाव, सामरिक प्रतिस्पर्धा र क्षेत्रीय अस्थिरताबीच भएको ट्रम्प–सी संवादले दुई देशबीच सम्बन्ध सुधारको नयाँ संकेत दिएको विश्लेषण गरिएको छ।