काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेघा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डेको पक्राउविरुद्ध दायर गरिएको बन्दीप्रत्यक्षीकरण रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।
न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासमा रिटमाथि सुनुवाइका लागि पेशी तोकिएको हो।

नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी आरोपमा पाण्डेलाई मंगलबार राति पक्राउ गरेको थियो। पक्राउ कानुनविपरीत भएको दाबी गर्दै उनकी पत्नी निरु दाहालले बुधबार सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी हुन्। रिटमार्फत पाण्डेको तत्काल रिहाइको माग गरिएको छ।

सीआईबीका अनुसार पाण्डेलाई सिन्धुलीस्थित कमलामाई नगरपालिका–६ बसपार्क क्षेत्रबाट मंगलबार साँझ पक्राउ गरिएको हो। स्मार्ट सेल टेलिकमको सम्पत्ति गैरकानुनी रूपमा लिलामी गरेको आरोपमा उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

उच्च पदस्थ बैंकिङ अधिकारीको पक्राउ र त्यसविरुद्ध अदालतमा परेको रिटले बैंकिङ तथा व्यावसायिक क्षेत्रमा चासो बढाएको छ। सर्वोच्च अदालतको आजको सुनुवाइले पाण्डेको कानुनी अवस्थाबारे महत्वपूर्ण दिशा तय गर्ने अपेक्षा गरिएको छ।

सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार पाण्डेलाई सिन्धुलीको कमलामाई नगरपालिका–६ बसपार्क क्षेत्रबाट मंगलबार राति करिब ८ बजे पक्राउ गरिएको थियो। स्मार्ट सेल टेलिकमको सम्पत्ति गैरकानुनी रूपमा लिलामी गरेको आरोपमा उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।