काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा मेट्रो रेल सञ्चालनको तयारी अघि बढाएको छ। राष्ट्रिय योजना आयोगको सिफारिसमा अर्थ मन्त्रालयले बहुवर्षीय आयोजनाअन्तर्गत मेट्रो रेलको विस्तृत तथा सम्भाव्यता अध्ययनका लागि बजेट स्रोत सुनिश्चित गरेको हो।

अर्थ मन्त्रालयले ‘रेल, मेट्रो रेल तथा मोनोरेल विकास आयोजना’ शीर्षकमा ३२ करोड ३७ लाख ९२ हजार रुपैयाँ बराबरको बजेट सुनिश्चितता प्रदान गरेको जनाएको छ। बजेट सुनिश्चित भएसँगै चालु आर्थिक वर्षभित्रै, असार महिनाभित्र सम्भाव्यता अध्ययनका लागि टेन्डर आह्वान गरिने तयारी गरिएको छ।

सरकारले हालै सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा विद्युतीय मास ट्रान्जिट प्रणाली विकास गरी सार्वजनिक यातायातलाई थप भरपर्दो बनाउने लक्ष्य लिएको थियो। सोही योजनाअनुसार मेट्रो रेल परियोजनालाई प्राथमिकतामा राखिएको हो।

काठमाडौं उपत्यकामा बढ्दो सवारी चाप र दैनिक ट्राफिक जामले नागरिकलाई सास्ती दिइरहेका बेला दीर्घकालीन समाधानका रूपमा मेट्रो रेललाई अघि बढाइएको सरकारको भनाइ छ। मेट्रो रेल सञ्चालनमा आएपछि सार्वजनिक यातायात व्यवस्थापन सहज हुने र उपत्यकाको ट्राफिक समस्या न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।