काठमाडौं । वाणिज्य बैंकहरूले जेठ महिनाका लागि लागू हुने नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । नयाँ दरअनुसार व्यक्तिगत तथा संस्थागत दुवै प्रकारका मुद्दती निक्षेपमा औसत ब्याजदर घटेको देखिएको छ ।

बैंकिङ क्षेत्रको विवरणअनुसार व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम औसत ब्याजदर ४.३४ प्रतिशत कायम भएको छ । अघिल्लो महिना वैशाखमा यस्तो ब्याजदर ४.४ प्रतिशत रहेको थियो ।

त्यस्तै संस्थागत मुद्दती निक्षेपको औसत ब्याजदर पनि घटेको छ । वैशाखमा ३.२२ प्रतिशत रहेको ब्याजदर जेठमा ३.२० प्रतिशतमा झरेको छ ।

सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये पाँच बैंकले जेठ महिनाका लागि ब्याजदर घटाएका छन् । ब्याजदर घटाउने बैंकमा स्ट्यान्डर्ड चार्टर्ड बैंक, कुमारी बैंक, एनआईसी एशिया बैंक, हिमालयन बैंक र नेपाल बैंक रहेका छन् ।

यता सिद्धार्थ बैंक र सिटिजन्स बैंकले भने ब्याजदर वृद्धि गरेका छन् । बाँकी बैंकहरूले वैशाखकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर जेठ १ गतेदेखि लागू हुनेछ ।