काठमाडौं । प्रतिनिधिसभाबाट सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको छ । बिहीबार विपक्षी दलहरूको बहिष्कार र प्रमुख प्रतिपक्षीको अवरोधबीच नीति तथा कार्यक्रम पारित गरिएको हो।

नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिन थालेपछि विपक्षी चार दलले सदन बहिष्कार गरेका छन्। नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राप्रपाका सांसदहरू बैठक छाडेर बाहिरिएका थिए।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले भने सदनमै बसेर अवरोध जारी राखेका थिए। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सदनमा अनुपस्थित भएपछि अर्थमन्त्रीले जवाफ दिएका हुन्। विपक्षी दलहरूले भने नीति तथा कार्यक्रममाथिको जवाफ प्रधानमन्त्री स्वयंले दिनुपर्ने अडान राखेका थिए।

यसअघि बिहीबार नै राष्ट्रियसभाबाट बहुमतले पारित भएको सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पनि पारित भएको घोषणा गरिएको हो। नीति तथा कार्यक्रममाथि उठेका विभिन्न प्रश्नहरूको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिएका थिए।