काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्कराज राईले प्रधानमन्त्री केपी शर्मा ओलीको संसदमा लगातार अनुपस्थितिलाई लिएर कडा आपत्ति जनाएका छन्।
बिहीबार विज्ञप्ति जारी गर्दै सांसद राईले प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रम प्रस्तुत हुँदा, त्यसको छलफलका क्रममा र सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने समयमा समेत संसदमा उपस्थित नभई संसदीय परम्परा र जनताको विश्वासमाथि आघात पुर्याएको बताएका हुन्।
उनले प्रधानमन्त्रीको यस्तो व्यवहारले संसदको मर्यादा कमजोर बनाएको उल्लेख गर्दै जनताप्रति उत्तरदायी हुन नसक्ने नेतृत्वले नैतिकताको आधारमा पदबाट राजीनामा दिनुपर्ने बताएका छन्।
राईले संसदलाई छलेर अध्यादेशको बाटोबाट शासन सञ्चालन गर्न खोज्नु लोकतान्त्रिक अभ्यासविपरीत भएको टिप्पणी गर्दै सरकार जनताको अपेक्षा पूरा गर्न असफल भएको आरोप लगाए।
उनले सीमा सुरक्षा, सुशासन र नागरिकका आधारभूत समस्यामा सरकार प्रभावकारी हुन नसकेको भन्दै प्रधानमन्त्रीले आफ्नो जिम्मेवारी पूरा गर्न नसकेको दाबी गरेका छन्।


