काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्रालयले रासायनिक मलको गुणस्तरमा कडाइ गर्दै निर्धारित मापदण्डविपरीत मल बिक्री वितरण नगर्न आयातकर्ता तथा डिलरहरूलाई निर्देशन दिएको छ। मन्त्रालयले रासायनिक मल नियन्त्रण आदेशअनुसार तोकिएको ‘स्पेसिफिकेसन’ पालना गरेर मात्रै मल कारोबार गर्न आग्रह गरेको हो।
मन्त्रालयले गलत विवरण, भ्रामक लेबल वा गुणस्तरहीन मलको पैठारी तथा बिक्री वितरण गरे कानुनी कारबाही गरिने चेतावनी दिएको छ। अनुदानमा उपलब्ध गराइएको मलको कालोबजारी तथा अनियमित कारोबारमा संलग्न व्यापारीलाई प्रचलित कानुनअनुसार कारबाही गरिने कृषि अर्थ विज्ञ महानन्द जोशी ले जानकारी दिए।
उनका अनुसार रासायनिक मलमा तोकिएको तत्वीय संरचना, न्यूनतम तथा अधिकतम पोषक तत्वको मात्रा, भौतिक तथा रासायनिक गुणस्तर अनिवार्य रूपमा कायम हुनुपर्ने व्यवस्था रहेको छ। सो मापदण्ड पूरा गरेका मल मात्रै आयात तथा बिक्री वितरण गर्न पाइने मन्त्रालयले स्पष्ट पारेको छ।
मन्त्रालयले किसानलाई पनि सचेत रहन आग्रह गर्दै सरकारी स्वामित्वका कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड का बिक्री केन्द्र, डिपो वा दर्ता भएका आधिकारिक डिलरबाट मात्रै मल खरिद गर्न अनुरोध गरेको छ।
त्यसैगरी, बजारमा उपलब्ध मलको मूल्य, स्रोत र गुणस्तरबारे आवश्यक जानकारी लिएर मात्रै खरिद गर्न मन्त्रालयले किसानलाई आह्वान गरेको छ। सरकारले कृषि उत्पादनमा असर नपरोस् भन्ने उद्देश्यले गुणस्तरीय मल आपूर्ति र बजार अनुगमनलाई थप कडा बनाउने संकेत दिएको छ।

