काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत जित्नैपर्ने दबाबमा रहेको नेपालले अमेरिकाविरुद्ध प्रभावशाली प्रदर्शन गर्दै शानदार जित हासिल गरेको छ । त्रिवि क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपाली टोलीले बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्दै महत्त्वपूर्ण दुई अंक जोडेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको अमेरिका ४३ ओभर ३ बलमा १९५ रनमै समेटियो । अमेरिकाका लागि ओपनर स्मित पटेलले सर्वाधिक ८४ रन बनाए पनि अन्य ब्याटरले ठूलो योगदान दिन सकेनन्। एक समय १२२–१ को मजबुत अवस्थामा रहेको अमेरिकी टोलीलाई नेपाली बलरहरूले दबाबमा पार्दै लगातार विकेट झारेपछि २०० रन पुग्न पनि संघर्ष गर्नुपर्यो।
नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए। सोमपाल कामीले २ विकेट हात पारे भने सन्दीप लामिछाने र गुल्शन झाले समान १–१ विकेट लिए। दुई अमेरिकी ब्याटर रनआउट भए।
१९६ रनको लक्ष्य पछ्याएको नेपालका लागि ओपनर कुशल भुर्तेल नायक बने। पछिल्ला केही खेलमा खराब फर्मका कारण बेञ्चमा रहेका भुर्तेलले टोलीमा पाएको अवसरलाई शतकीय इनिङ्समार्फत स्मरणीय बनाए। उनले १२० रनको शानदार पारी खेल्दै नेपाललाई सहज जिततर्फ डोर्याए।
भुर्तेलको उत्कृष्ट प्रदर्शनसँगै नेपालले लिग–२ मा महत्त्वपूर्ण जित दर्ता गर्दै समर्थकलाई खुसी बनाएको छ। यो जितले नेपाली टोलीको आगामी यात्रामा थप आत्मविश्वास थप्ने विश्वास गरिएको छ।

