काठमाडौं । पछिल्ला केही दिनदेखि मौसममा आएको परिवर्तन र प्रिमनसुन सक्रिय भएसँगै कृषि विभागले भण्डारण गरिएका अन्न, दाल तथा विभिन्न खेतीबालीको संरक्षणमा विशेष सावधानी अपनाउन किसानलाई आग्रह गरेको छ।

विभागका अनुसार देशका अधिकांश क्षेत्रमा सरदरभन्दा बढी वर्षा भइरहेकाले भण्डारणमा राखिएका खाद्यवस्तुमा चिस्यान बढ्ने, किरा लाग्ने तथा गुणस्तरमा असर पर्ने जोखिम बढेको छ। यस्तो अवस्थामा किसानलाई नियमित रूपमा भण्डारण गरिएका अन्नबालीको अनुगमन गर्न तथा खेतमा पाकेका बाली लामो समयसम्म नछाड्न सुझाव दिइएको छ।

विभागले आउँदो सातासम्म दिउँसोपछि हावाहुरी, चट्याङ र असिना पर्ने सम्भावना रहेकाले बजार लैजानुपर्ने फलफूल तथा तरकारी बाली बिहान शीत सुकिसकेपछि मात्रै टिप्न आग्रह गरेको छ। यसले उत्पादनमा हुने क्षति कम गर्न सहयोग पुग्ने विभागको भनाइ छ।

कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलका अनुसार किसानलाई प्राविधिक सुझाव, बाली संरक्षण, उत्पादन वृद्धि र बजारीकरणसम्बन्धी आवश्यक जानकारी उपलब्ध गराउँदै सम्भावित जोखिम न्यूनीकरणका लागि विभाग सक्रिय रूपमा काम गरिरहेको छ।

त्यस्तै, कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कृषि सूचना केन्द्रले पनि मौसमी सूचना, हावापानीको अवस्था र प्रकोपसम्बन्धी जानकारी नियमित रूपमा किसानसम्म पुर्‍याउँदै आएको जनाएको छ।
केन्द्रका अधिकृत सन्जीव पण्डितले भण्डारण गरिएका अन्नलाई किराबाट जोगाउन भकारीको माथिल्लो भागमा सुकाएको निम, बकाइनो वा तितेपातीका पात राख्न सुझाव दिएका छन्। यस्ता प्राकृतिक उपायले अन्नबाली सुरक्षित राख्न मद्दत पुग्ने उनको भनाइ छ।

यसैबीच, केन्द्रले आलु भण्डारणमा ‘जोताहा किरा’ अर्थात् आलुको पुतलीबाट विशेष सतर्क रहन पनि आग्रह गरेको छ। आलु खनेपछि लामो समय खेतमै थुपारेर राख्दा पुतलीले फुल पारेर ठूलो क्षति पुर्‍याउन सक्ने भएकाले समयमै सुरक्षित भण्डारण गर्न किसानलाई सुझाव दिइएको छ।