काठमाडौं । मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ स्थित एक्लेभट्टी क्षेत्रमा ठूलो परिमाणमा चाइनिज भेप (इलेक्ट्रिक चुरोट) बरामद गरिएको छ। सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र मुस्ताङ भन्सार कार्यालयको संयुक्त टोलीले शुक्रबार राति दुई वटा कन्टेनरसहित तीन जनालाई नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरीले दिएको जानकारीअनुसार ना६ख ४७४३ र ना५ख ७९२१ नम्बरका कन्टेनरमार्फत कोरोला नाका हुँदै काठमाडौंतर्फ ल्याइँदै गरेको ५९० कार्टुन भेप बरामद गरिएको हो।

पक्राउ पर्नेमा धादिङको धुनीबेशी नगरपालिका–१ निवासी सन्तोष लामा, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ का फुन्चुदोर्जे तामाङ र सोही गाउँपालिका–३ का पासाङ शेर्पा रहेका छन्।

बरामद गरिएको कन्टेनरबाट भेपका साथै २५९ कार्टुन विभिन्न कम्पनीका जुत्ता, ८ बोरा मोजा, १५ बोरा लत्ताकपडा तथा सामान प्याकिङमा प्रयोग हुने १५ केजी खाली कार्टुन बक्स समेत फेला परेको प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता डीआईजी विष्णुप्रसाद भट्टका अनुसार पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक अनुसन्धानका लागि प्रहरीको जिम्मा लगाइएको छ भने बरामद सामान मुस्ताङ भन्सार कार्यालयमा बुझाइएको छ।