काठमाडौं — हृदयेश त्रिपाठी ले जनता समाजवादी पार्टी, नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी बीचको प्रस्तावित एकीकरणप्रति असन्तुष्टि जनाउँदै दुई महत्त्वपूर्ण विषयमा आफ्नो फरक धारणा सार्वजनिक गरेका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै त्रिपाठीले आफू प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको पक्षमा नरहेको बताएका हुन्। नेपालजस्तो बहुजातीय, बहुभाषिक र विविधतायुक्त देशका लागि वर्तमान संसदीय शासन व्यवस्था तथा मिश्रित निर्वाचन प्रणाली नै उपयुक्त हुने उनको तर्क छ।

उनले प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीले अल्पसंख्यक समुदायको प्रतिनिधित्व कमजोर बनाउन सक्ने दाबी गरेका छन्। पर्याप्त सैद्धान्तिक स्पष्टता र साझा दृष्टिकोणबिना गरिएको राजनीतिक एकता दीर्घकालीन रूपमा आत्मघाती बन्न सक्ने चेतावनीसमेत उनले दिएका छन्।

त्रिपाठीले आफ्नो नेतृत्वको जनता प्रगतिशील पार्टी र तमलोपाको पहलपछि लोकतान्त्रिक समाजवादी पार्टी सँग एकीकरणको प्रक्रिया अघि बढेको उल्लेख गर्दै हालको जसपा–लोसपा एकीकरणबारे आफूहरूलाई पूर्वजानकारी नदिइएको आरोप लगाए।

हालै दुई दलबीच एकताको तयारी तीव्र भइरहेका बेला त्रिपाठीको अभिव्यक्तिलाई मधेश केन्द्रित राजनीतिमा नयाँ बहसको रूपमा हेरिएको छ।