काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई समाजमुखी बनाउँदै सबै नेता तथा कार्यकर्तालाई साथमा लिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रजातान्त्रिक विचार समाजको ३१औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले नेपाली कांग्रेसलाई केवल संगठनभित्र सीमित नराखी समाजको सेवामा केन्द्रित गर्ने बताएका हुन्।

थापाले नेपाली कांग्रेस राष्ट्रिय शक्ति भएकाले क्षणिक लाभ–हानिका आधारमा निर्णय गर्न नहुने बताए। उनले चुनावी नतिजाले मात्र पार्टीको शक्ति निर्धारण नहुने उल्लेख गर्दै राष्ट्रिय राजनीतिमा कांग्रेसले प्रतिक्रिया दिनेभन्दा दिशा निर्देशन गर्ने क्षमता विकास गर्नुपर्ने धारणा राखे।
उनले निर्वाचित सरकारको अधिकार संविधानले सीमित गरेको उल्लेख गर्दै कानुन निर्माणको अधिकार भए पनि त्यसको उद्देश्य र दायरा संविधानले तय गरिसकेको बताए।

सभापति थापाले पार्टीको १४औँ महाधिवेशनबाट निर्वाचित धेरै नेताहरू अहिले सक्रिय भूमिकाभन्दा बाहिर रहेको भन्दै इच्छुक नेताहरूलाई सम्मानजनक जिम्मेवारीसहित पुनः सक्रिय बनाउने योजना सुनाए। आवश्यकताअनुसार वरिष्ठ नेता बनाउने र उपयुक्त स्थानमा जिम्मेवारी दिने प्रस्तावसमेत उनले अघि सारे।

कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेस वैचारिक स्पष्टतामा अन्य दलभन्दा फरक देखिनुपर्ने बताए। उनले शान्तिपूर्ण परिवर्तन र लोकतान्त्रिक मूल्यलाई मजबुत बनाउन विचार नै पार्टीको मुख्य हतियार भएको उल्लेख गर्दै सबै लोकतान्त्रिक पक्षसँग निरन्तर संवाद आवश्यक रहेको धारणा राखे।