काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले आज स्कटल्याण्डसँग महत्वपूर्ण खेल खेल्दैछ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल बिहान साढे ९ बजे सुरु हुनेछ।
नेपाल, अमेरिका र स्कटल्याण्डबीच जारी त्रिकोणात्मक शृङ्खलामा हालसम्म तीन खेल सम्पन्न भइसकेका छन्। तीमध्ये स्कटल्याण्डले आफ्ना दुवै खेलमा जित हात पारेको छ। स्कटल्याण्डले पहिलो खेलमा नेपाललाई डकवर्थ–लुइस (डीएलएस) नियमका आधारमा दुई रनले हराएको थियो भने अमेरिकालाई पनि सोही अन्तरले पराजित गरेको थियो।
यता, नेपालले आफ्नो पछिल्लो खेलमा अमेरिकामाथि शानदार प्रदर्शन गर्दै नौ विकेटको सहज जित निकालेको थियो। त्यस खेलमा नेपाली टोलीले बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेको थियो, जसले आजको खेलअघि टोलीको मनोबल उच्च बनाएको छ।
आजको खेल नेपालका लागि निकै निर्णायक मानिएको छ। विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाउन नेपालले बाँकी सबै खेलमा जित निकाल्नुपर्ने दबाबमा छ। साथै, एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन पनि नेपाललाई अङ्क तालिकाको शीर्ष ६ भित्र रहन आवश्यक छ।
हाल नेपाल २६ खेलबाट ९ जित, १५ हार र दुई खेल अनिर्णितसहित २० अङ्क जोडेर तालिकाको सातौँ स्थानमा रहेको छ। अर्कोतर्फ, स्कटल्याण्ड ३० खेलबाट १६ जित, ८ हार र ६ खेल अनिर्णितसहित ३८ अङ्कका साथ शीर्ष स्थानमा छ।
घरेलु मैदान र समर्थकको साथ पाएको नेपाल आज स्कटल्याण्डविरुद्ध जित निकाल्दै आफ्नो विश्वकप यात्राको सम्भावना जीवित राख्ने लक्ष्यमा हुनेछ।

