काठमाडौं । इरानले युद्ध अन्त्यका लागि अघि सारेको शान्ति प्रस्तावको जवाफमा अमेरिकाले पाँचबुँदे सर्त प्रस्तुत गरेको छ। फेब्रुअरी २८ देखि जारी द्वन्द्व रोक्ने उद्देश्यले इरानले अमेरिकासमक्ष प्रस्ताव पठाएको थियो।

इरानी समाचार एजेन्सी फार्सका अनुसार अमेरिकाले इरानलाई एउटा मात्र परमाणु केन्द्र सञ्चालन गर्न अनुमति दिने, अत्यधिक संवर्धित युरेनियमको मौज्दात अमेरिकालाई हस्तान्तरण गर्नुपर्ने, विदेशमा रोक्का गरिएका इरानी सम्पत्तिको २५ प्रतिशतसमेत फुकुवा नगर्ने, युद्धका क्रममा भएको क्षतिको कुनै क्षतिपूर्ति नदिने तथा वार्ताको प्रारम्भमै सबै मोर्चामा पूर्ण युद्धविराम लागू गर्नुपर्ने सर्त राखेको छ।

इरानको अर्को सरकारी समाचार एजेन्सी मेहरले अमेरिकाले युद्धबाट प्राप्त गर्न नसकेका रणनीतिक फाइदा वार्तामार्फत हासिल गर्न खोजेको आरोप लगाएको छ। उक्त एजेन्सीले यसले वार्ता सफल हुने सम्भावना कमजोर बनाउने जनाएको छ।

इरानले आफ्नो प्रस्तावमा लेबनानमा जारी इजरायली सैन्य अभियानसहित सबै मोर्चामा युद्ध अन्त्य गर्न तथा अप्रिल १३ देखि इरानी बन्दरगाहहरूमा लागू अमेरिकी नौसैनिक नाकाबन्दी हटाउन माग गरेको थियो।
यसअघि इरानको परराष्ट्र मन्त्रालयले सबै अमेरिकी प्रतिबन्ध हटाउन र विदेशमा लामो समयदेखि रोक्का गरिएका आफ्ना सम्पत्ति फुकुवा गर्न माग गरेको थियो। साथै, इरानले होर्मुज जलमार्गमाथिको आफ्नो नियन्त्रण कायम राख्ने अडान पनि दोहोर्‍याएको छ।

विश्वव्यापी ऊर्जा आपूर्तिको महत्वपूर्ण मार्ग मानिने होर्मुज जलमार्ग युद्ध सुरु भएयता अधिकांश समय अवरुद्धजस्तै बनेको छ। विश्वको करिब २० प्रतिशत तेल आपूर्ति यही मार्ग हुँदै हुने भएकाले यस क्षेत्रको तनावले अन्तर्राष्ट्रिय बजारमा समेत प्रभाव पारेको छ।

यसैबीच, इरानी सशस्त्र बलका प्रवक्ता अबोलफजल शेकार्चीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानमाथि पुनः आक्रमण नगर्न चेतावनी दिएका छन्। इरानी संसद्का उपसभामुख हमिदरेजा हाजिबाबाईले पनि इरानी तेल पूर्वाधारलाई लक्षित गर्ने कुनै पनि कदमविरुद्ध कडा प्रतिक्रिया जनाउने चेतावनी दिएका छन्।