काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे तथा राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजेका लागि बोलाइएको छ।
आजदेखि संसदका दुवै सदनमा आगामी आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) माथि छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ। सरकारले वार्षिक बजेट प्रस्तुत गर्नुअघि सांसदहरूबाट सुझाव संकलन गर्ने उद्देश्यले यो छलफल गरिने परम्परा रहेको छ।
प्रतिनिधिसभाको आजको बैठकमा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेश गर्ने कार्यक्रम पनि तय गरिएको छ।
संवैधानिक व्यवस्था अनुसार सरकारले प्रत्येक वर्ष जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान छ। त्यसअघि बजेटका प्राथमिकता, योजना र कार्यक्रमबारे संसदमा व्यापक छलफल हुने भएकाले आजको बैठकलाई महत्वपूर्ण रूपमा हेरिएको छ।

