काठमाडौं। नेपाली क्रिकेटका स्टार लेग स्पिनर सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) क्रिकेटमा नयाँ विश्व कीर्तिमान कायम गरेका छन्। उनले सबैभन्दा कम खेलमा १५० विकेट पूरा गर्ने खेलाडी बन्दै विश्व क्रिकेटमा नेपालको नाम उज्यालो बनाएका हुन्।

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डविरुद्ध जारी खेलमा ब्रान्डन म्याकमुलनलाई आउट गर्दै सन्दीपले आफ्नो ओडिआई करियरको १५०औँ विकेट पूरा गरेका हुन्। उनले यो ऐतिहासिक उपलब्धि केवल ७३ खेलमै हासिल गरेका छन्।

यसअघि सबैभन्दा कम खेलमा १५० विकेट पूरा गर्ने कीर्तिमान अस्ट्रेलियाका मिचेल स्टार्कको नाममा थियो। स्टार्कले सन् २०१९ मा वेस्ट इन्डिजविरुद्ध ७७ खेलमा उक्त उपलब्धि हासिल गरेका थिए। अब सन्दीपले त्यो कीर्तिमान तोड्दै नयाँ इतिहास रचेका छन्।

यसअघि पनि सन्दीपले अफगानिस्तानका स्टार स्पिनर राशिद खानको कीर्तिमान तोडेका थिए। उनले केवल ४२ खेलमै १०० विकेट पूरा गर्दै राशिदको ४४ खेलको रेकर्ड पछि पारेका थिए।

सन् २०१८ अगस्ट १ मा नेदरल्यान्ड्सविरुद्ध ओडिआई डेब्यु गरेका सन्दीपले छोटो समयमै नेपाली क्रिकेटका प्रमुख भरोसाका रूपमा आफूलाई स्थापित गरेका छन्। उनको यो उपलब्धिले नेपाली क्रिकेटप्रेमीमा नयाँ उत्साह थपेको छ।