काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत सोमबार सम्पन्न खेलमा नेपालले शीर्षस्थानमा रहेको स्कटल्यान्डलाई ६ विकेटले पराजित गर्दै महत्वपूर्ण जित हासिल गरेको छ। योसँगै नेपालले प्रतियोगिताको अंकतालिकामा दुई स्थान सुधार गर्दै पाँचौँ स्थानमा उक्लिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डले दिएको १९५ रनको लक्ष्य नेपालले ३८.१ ओभरमा ४ विकेट गुमाएर सहज रूपमा पूरा गर्यो।
नेपालको जितमा कप्तान रोहित पौडेल नायक बने। उनले ९८ बलमा ५ चौका र २ छक्कासहित अविजित ७४ रन बनाए। चौथो विकेटका लागि इशान पाण्डेसँग मिलेर उनले शतकीय साझेदारी गर्दै टोलीलाई जिततर्फ डोर्याए। इशानले ६१ बलमा ५ चौका र २ छक्कासहित ५५ रनको महत्वपूर्ण योगदान दिए।
ओपनर कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि ५८ रनको साझेदारी गर्दै नेपाललाई मजबुत सुरुवात दिलाएका थिए। कुशलले २८ तथा आसिफले २९ रन बनाए। उपकप्तान दीपेन्द्रसिंह ऐरी २ रनमै आउट भए भने आरिफ शेख ८ रनमा अविजित रहे।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्ड ३९.१ ओभरमा १९४ रनमा समेटिएको थियो। स्कटल्यान्डका ब्रेन्डन म्याकमुलेनले ४४ बलमा ६ चौका र ६ छक्कासहित ७३ रनको आक्रामक इनिङ खेले। माइकल इंग्लिसले ५१ रनको अर्धशतक बनाए भने जर्ज मुन्से र मार्क वाटले क्रमशः २१ र २० रन जोडे।
नेपालका लागि स्पिनर ललित राजवंशी उत्कृष्ट साबित भए। उनले ८ ओभरमा ३२ रन खर्चेर ४ विकेट लिए। सन्दीप लामिछानेले १० ओभरमा ३ विकेट लिँदै अर्को ऐतिहासिक उपलब्धि पनि हात पारे। उनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम खेल (७३ खेल) मा १५० विकेट पूरा गर्दै अष्ट्रेलियाका मिचेल स्टार्कको कीर्तिमान तोडे।
यस जितसँगै नेपालले २७ खेलबाट २२ अंक जोडेको छ र पाँचौँ स्थानमा पुगेको छ। अब नेपालले त्रिकोणात्मक सिरिजअन्तर्गत आफ्नो अन्तिम खेल आगामी शुक्रबार अमेरिकासँग खेल्नेछ।

