काठमाडौं। मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईं वीरगञ्जबाट पक्राउ परेका छन्।
प्रहरी स्रोतका अनुसार उनलाई सोमबार राति वीरगञ्जस्थित दियोलो होटलबाट पक्राउ गरिएको हो। पक्राउको कारणबारे प्रहरीले औपचारिक रूपमा केही खुलाएको छैन, तर ‘माथिको आदेश’ अनुसार नियन्त्रणमा लिइएको बताइएको छ।
प्रसाईं मंगलबार वीरगञ्जमा आयोजना हुने एक कार्यक्रममा सहभागी हुन सिमरा विमानस्थल हुँदै त्यहाँ पुगेका थिए। विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले वर्तमान सरकार तथा केही राजनीतिक दलका नेताहरूमाथि आलोचनात्मक टिप्पणी गरेका थिए।
उनको पक्राउसँगै राजनीतिक तथा सामाजिक वृत्तमा विभिन्न प्रतिक्रिया आउन थालेका छन्। समर्थकहरूले पक्राउको विरोध गरेका छन् भने प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ।
प्रसाईं पछिल्लो समय विभिन्न राजनीतिक र सामाजिक मुद्दामा सक्रिय रूपमा अभिव्यक्ति दिँदै आएका थिए। पक्राउपछि उनलाई कहाँ राखिएको छ भन्नेबारे भने अझै स्पष्ट जानकारी आएको छैन।

