काठमाडौँ । नेपाल बार एसोसिएसनसहित कानुन व्यवसायीहरूले आज सर्वोच्च अदालत प्रशासनको कार्यशैलीविरुद्ध विरोध प्रदर्शन गर्ने भएका छन्। विरोधस्वरूप आज दिउँसो १ बजे बार प्राङ्गणमा लालटिन बालेर प्रदर्शन गरिने जनाइएको छ।

बारले सरकारद्वारा जारी गरिएको अध्यादेश तथा संवैधानिक परिषद्को निर्णयविरुद्ध दायर गरिएका रिट निवेदनहरू दर्ता गर्न सर्वोच्च अदालत प्रशासनले अस्वीकार गरेको आरोप लगाएको छ। साथै, कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले सोमबार दिएको आदेशसमेत कार्यान्वयन नगरी अदालत प्रशासनले उल्लंघन गरेको भन्दै कानुन व्यवसायीहरू आन्दोलित भएका हुन्।

नेपाल बार एसोसिएसनको सोमबार बसेको बैठकले संवैधानिक महत्वका मुद्दाहरूको रिट दर्ता नगरी न्यायिक प्रक्रियामा अवरोध सिर्जना गरिएको निष्कर्ष निकाल्दै आन्दोलन सुरु गर्ने निर्णय गरेको थियो।

बारले अदालत प्रशासनको कार्यशैलीले न्यायिक स्वतन्त्रता र विधिको शासनमाथि प्रश्न उठाएको जनाएको छ। न्याय, विवेक र स्वच्छ प्रक्रियाको पक्षमा उभिन सम्पूर्ण कानुन व्यवसायीलाई विरोध कार्यक्रममा सहभागी हुन पनि आह्वान गरिएको छ।

बारको यस कदमलाई न्यायपालिकाभित्र देखिएको पछिल्लो विवाद र असन्तुष्टिको संकेतका रूपमा हेरिएको छ।