काठमाडौं । नेकपा नेता वर्षमान पुनले प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज कुमार शर्मामाथिको संसदीय सुनुवाइ तत्काल नगरी एक दिन पछि सार्न आग्रह गरेका छन्।
मंगलबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा पुनले शर्माविरुद्ध परेका उजुरीहरू र उनले प्रस्तुत गरेको कार्ययोजना अध्ययन गर्न पर्याप्त समय आवश्यक रहेको भन्दै सुनुवाइ भोलिका लागि सार्नुपर्ने धारणा राखेका हुन्।
समितिले शर्माको सुनुवाइ आजै गर्ने तयारी गरिरहेको बेला उनीमाथि परेका १६ वटा उजुरी तथा कार्ययोजना सदस्यहरूलाई वितरण गरिएको छ। पुनले यस्ता महत्वपूर्ण विषयमा पर्याप्त अध्ययन र छलफल बिना निर्णयमा पुग्नु उपयुक्त नहुने बताए।
उनले निर्णयको परिणाम पहिले नै अनुमान गर्न सकिने अवस्था रहेको संकेत गर्दै पनि प्रक्रियागत रूपमा पारदर्शी र व्यवस्थित ढंगले सुनुवाइ सम्पन्न गर्नुपर्नेमा जोड दिए।
साथै, संसदमा अहिले प्रि-बजेट छलफल पनि चलिरहेको उल्लेख गर्दै समितिका सदस्यहरूले त्यहाँ पनि सहभागी हुनुपर्ने भएकाले सुनुवाइ अर्को दिन गर्नु व्यावहारिक हुने पुनको भनाइ थियो।
प्रधानन्यायाधीश नियुक्ति जस्तो संवेदनशील विषयमा सुनुवाइ प्रक्रियालाई हतारमा अघि नबढाई गम्भीरतापूर्वक अगाडि बढाउनुपर्ने आवाज समितिभित्र बलियो बन्दै गएको छ।

