काठमाडौं । श्रम संस्कृति पार्टीका सांसदहरूले मंगलबार पनि प्रतिनिधिसभा बैठकमा पर्चा देखाएर सरकारको कार्यशैलीप्रति विरोध जनाएका छन्।
बैठक सुरु भएलगत्तै श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ पोस्टर हातमा लिएर उठेका थिए। त्यसपछि सभामुखले उनलाई आकस्मिक समय नमागिएको उल्लेख गर्दै आफ्नो स्थानमा बस्न आग्रह गरेका थिए।
सभामुखले सांसद साम्पाङको ध्यानाकर्षण भएको बताउँदै संसदको मर्यादा कायम राख्न अनुरोध गरेपछि उनी आफ्नो स्थानमा बसेका थिए।
यसअघि सोमबारको प्रतिनिधिसभा बैठकमा पनि श्रम संस्कृति पार्टीले पर्चा प्रदर्शन गर्दै सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएको थियो। लगातार दोस्रो दिन गरिएको यस्तो विरोधले संसदभित्र सरकारप्रति बढ्दो असन्तुष्टि झल्काएको छ।
श्रम संस्कृति पार्टीले आफ्ना मागहरू सम्बोधन नभएसम्म विरोधका कार्यक्रमलाई निरन्तरता दिने संकेत गरेको छ।

