काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. अमरेशकुमार सिंहले आगामी आर्थिक वर्षको बजेटको विनियोजन प्राथमिकतामाथिको छलफलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अनुपस्थित रहेको भन्दै कडा असन्तुष्टि व्यक्त गरेका छन्।
प्रतिनिधिसभामा बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल भइरहेका बेला बोल्दै सिंहले आफ्नो २० वर्षे संसदीय अनुभवमा पहिलोपटक अर्थमन्त्रीको अनुपस्थितिमा बजेटसम्बन्धी छलफल भएको भन्दै आश्चर्य र चिन्ता व्यक्त गरे।
छलफलका क्रममा सरकारको तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनाल उपस्थित थिए। यसप्रति टिप्पणी गर्दै सिंहले बजेट निर्माण र प्रस्तुतिको जिम्मेवारी अर्थमन्त्रीकै हुने भएकाले यस्तो महत्वपूर्ण छलफलमा अर्थमन्त्री उपस्थित हुनुपर्ने संसदीय परम्परा रहेको बताए।
उनले भने, “परम्परा तोड्ने नाममा सबै परम्परा भत्काउनु हुँदैन। बजेटको विनियोजन प्राथमिकतामाथि छलफल हुँदा अर्थमन्त्री जहिले पनि उपस्थित हुने प्रणाली छ। परराष्ट्रमन्त्रीले बजेट बनाउने होइन।”
सांसद सिंहले संसदीय प्रणालीको सम्मान गर्नुपर्ने उल्लेख गर्दै यस्ता अभ्यासले संसदको औचित्यमाथि नै प्रश्न उठ्ने चेतावनी दिए। उनले थपे, “यदि नयाँपनका नाममा सबै कुरा परिवर्तन गर्ने हो भने सिंहदरबार, प्रधानमन्त्री पद र मन्त्री पदसमेत किन नराख्ने? परिवर्तन पनि औचित्यपूर्ण हुनुपर्छ।”
अर्थमन्त्री व्यस्त भए पनि एक–दुई दिनको छलफलका लागि समय निकाल्नुपर्ने भन्दै सिंहले आफ्नो भनाइ कम्तीमा संसदीय अभिलेखमा रहोस् भन्ने उद्देश्यले यो विषय उठाएको बताए।
उनको अभिव्यक्तिले बजेट छलफलको प्रक्रियामा सरकारको उपस्थितिलाई लिएर संसदभित्र प्रश्न उठ्न थालेको संकेत गरेको छ।

