काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी पहिलो महाधिवेशनलाई लक्षित गर्दै पार्टीका शीर्ष नेताहरूलाई देशभर परिचालन गर्ने निर्णय गरेको छ। वडा, पालिका तथा जिल्ला तहका भेला र अधिवेशनलाई प्रभावकारी बनाउन केन्द्रीय पदाधिकारी, सांसद तथा विभिन्न विभागका नेताहरूलाई जिम्मेवारीसहित जिल्ला-जिल्लामा खटाइएको हो।

रास्वपाले आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा पहिलो महाधिवेशन आयोजना गर्ने तय गरेको छ। महाधिवेशनअघि तल्लो तहका सबै संगठनात्मक संरचनाको अधिवेशन सम्पन्न गर्न पार्टीले विस्तृत कार्यतालिका सार्वजनिक गरेको छ।

पार्टीका अनुसार तदर्थ समिति गठन हुन बाँकी रहेका वडाहरूमा भेला सम्पन्न गरिएको छ भने दोस्रो चरणको वडा अधिवेशन जेठ १६ गते हुने तय गरिएको छ। त्यस्तै, पालिका तहको भेला जेठ ९ गते, पालिका अधिवेशन जेठ १० र १७ गते, तथा जिल्ला अधिवेशनहरू जेठ २३ र २४ गते सञ्चालन गरिनेछन्। त्यसपछि जेठ २६ गतेदेखि असार १ गतेभित्र प्रदेश अधिवेशन सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

केन्द्रीय प्रतिनिधिहरूलाई स्पष्ट कार्यादेश (टीओआर) दिइएको र जहाँ संगठन निर्माण हुन सकेको छैन, त्यहाँ नयाँ तदर्थ समिति गठन गर्ने जिम्मेवारी दिइएको पार्टीले जनाएको छ। संगठनात्मक लचकता अपनाउँदै वडा र पालिका तहमा कम्तीमा ३० प्रतिशत अधिवेशन सम्पन्न भए पनि माथिल्लो तहको अधिवेशन अघि बढाउन सकिने निर्णय गरिएको छ।

जिल्ला प्रतिनिधि खटाउँदा अधिकांश सांसदहरूलाई आफ्नै गृहजिल्लाको जिम्मेवारी दिइएको छ भने सरकारमा रहेका मन्त्रीहरूलाई महाधिवेशनको संगठनात्मक जिम्मेवारीबाट अलग राखिएको छ। धेरै निर्वाचन क्षेत्र भएका जिल्लाहरूमा एकभन्दा बढी प्रतिनिधि परिचालन गरिएको छ।

कार्यविभाजनअनुसार कविन्द्र बुर्लाकोटीलाई गोरखा, विपिन आचार्यलाई दाङ, क्रान्तिशिखा धिताललाई रोल्पा, मनिष झालाई धनुषा, र रमेश प्रसाईलाई ताप्लेजुङको जिम्मेवारी दिइएको छ। त्यसैगरी, इन्दिरा रानामगर र निशा डाँगीलाई झापा तथा सांसद रञ्जु दर्शनालाई काठमाडौंको प्रतिनिधि बनाएर खटाइएको छ।

रास्वपाले पहिलो महाधिवेशनमार्फत संगठनलाई संस्थागत गर्दै देशभर पार्टी संरचना सुदृढ बनाउने लक्ष्य लिएको जनाएको छ।