काठमाडौं । टी बोर्ड इण्डियाले आयातित चियाको परीक्षणसम्बन्धी मापदण्डमा संशोधन गर्दै नयाँ निर्देशन जारी गरेपछि नेपालबाट भारततर्फ हुने चिया निर्यातमा देखिएको अवरोध हटेको छ।
भारतले मे १ देखि लागू गरेको कडा परीक्षण व्यवस्थाका कारण पछिल्लो २० दिनदेखि नेपाली चिया निर्यात ठप्प भएको थियो। अब मे १९, २०२६ मा जारी गरिएको ‘कोरिजेन्डम दोश्रो’ मार्फत परीक्षण प्रक्रियामा लचकता अपनाइएपछि निर्यात पुनः सहज हुने भएको हो।
नयाँ संशोधनअनुसार पुनःनिर्यातका लागि आयात गरिने चियामा भने अनिवार्य प्रयोगशाला परीक्षण जारी रहनेछ। तर भारतीय आन्तरिक बजारमा बिक्रीका लागि आयात गरिने चियाको परीक्षण भन्सार र भारतीय खाद्य सुरक्षा निकायले आफ्नो जोखिम व्यवस्थापन प्रणालीअनुसार गर्नेछ, र टी बोर्ड इण्डियाले तत्कालका लागि यस्तो चियाको परीक्षण नगर्ने स्पष्ट पारेको छ।
नेपाल चिया एशोसिएसनका अध्यक्ष कमल मैनालीका अनुसार नयाँ व्यवस्थाले नेपाली चिया निर्यातकर्तालाई ठूलो राहत दिएको छ।
‘नयाँ क्लाउजअनुसार अब नेपाली चियालाई भारतीय बजारमा निर्यात गर्न कुनै अवरोध रहने छैन,’ उनले बताए।
यसअघि भारतले हरेक ट्रक र हरेक चिया कन्साइनमेन्टको अनिवार्य प्रयोगशाला परीक्षण गर्नुपर्ने व्यवस्था लागू गरेको थियो। परीक्षणका लागि प्रति नमुना ११ हजार १ सय २० भारतीय रुपैयाँ (करिब १७,८०० नेपाली रुपैयाँ) शुल्क तिर्नुपर्ने र रिपोर्ट आउन १४ देखि २० दिनसम्म लाग्ने भएकाले निर्यात प्रक्रिया पूर्ण रूपमा प्रभावित भएको थियो।
नयाँ संशोधनमा प्रयोगशालाले नमुना प्राप्त भएको पाँच दिनभित्र परीक्षण प्रतिवेदन अपलोड गर्नुपर्ने व्यवस्था पनि गरिएको छ, जसले अब प्रक्रिया थप छिटो हुने अपेक्षा गरिएको छ।
यो निर्णय एफएसएसएआई, भारतीय भन्सार विभाग, टी बोर्ड इण्डिया तथा भारतको वाणिज्य विभागबीच मे १२ मा भएको संयुक्त बैठकपछि लागू गरिएको हो।
नयाँ निर्णयसँगै नेपाली चिया व्यवसायीहरूले राहत महसुस गरेका छन् भने भारततर्फको चिया निर्यात पुनः नियमित हुने विश्वास गरिएको छ।

