काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्दैछ। बैठकमा विभिन्न महत्त्वपूर्ण विधेयकमाथि छलफल तथा निर्णय गर्ने कार्यसूची तय गरिएको संसद सचिवालयले जनाएको छ।
आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक–२०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्। साथै, उनले मतदाता नामावली (पहिलो संशोधन) विधेयक–२०८३ र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक–२०८१ माथि पनि सदनमा छलफल अघि बढाउने कार्यसूची रहेको छ।
यस्तै, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वैकल्पिक विकास वित्त परिचालन विधेयक–२०८२ माथिको दफावार छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन्। उक्त विधेयकमाथि प्राप्त संशोधन प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गरिनेछ भने अन्तिम रूपमा विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पनि आजकै बैठकमा अघि बढाइने सम्भावना छ।
आजको बैठकलाई निर्वाचन प्रणाली सुधार, मतदाता व्यवस्थापन र वैकल्पिक विकास वित्त परिचालनसँग जोडिएका महत्त्वपूर्ण कानुनी प्रक्रियाका दृष्टिले अर्थपूर्ण मानिएको छ।

