काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)ले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को राजीनामा माग गरेका छन्। बिहीबार प्रतिनिधिसभा बैठकको सुरुमै विरोध जनाउँदै उनले प्रधानमन्त्रीले नैतिकताको आधारमा पदबाट हट्नुपर्ने बताएका हुन्।
राईले आफूहरूले गत वैशाख २८ गतेदेखि भारतले मिचेको नेपाली भूमि, रिक्त रहेको गृहमन्त्रालय तथा सुकुम्बासी व्यवस्थापनको विषयमा सरकारसँग जवाफ माग्दै आएको भए पनि प्रधानमन्त्रीबाट कुनै प्रतिक्रिया नआएको भन्दै असन्तुष्टि जनाए।
उनले प्रधानमन्त्री शाहले संसदप्रति गैरजिम्मेवार व्यवहार गरेको आरोप लगाउँदै जनताका सवालमा जवाफदेही बन्न नसकेको टिप्पणी गरे। यसअघि पनि नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा प्रधानमन्त्री सदनमा उपस्थित नभएको भन्दै राईले लिखित रूपमा समेत राजीनामा माग गरेका थिए।
राईको भनाइमा संसदको गरिमा कायम राख्न नसक्ने नेतृत्वले नैतिक जिम्मेवारी वहन गर्दै मार्ग प्रशस्त गर्नुपर्ने आवश्यकता रहेको छ।

