काठमाडौं — नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रतिनिधिसभाको गरिमा र संसदीय मर्यादा कायम राख्ने जिम्मेवारी सभामुखको भएको भन्दै त्यसतर्फ गम्भीर ध्यान दिन आग्रह गरेका छन्।

बिहीबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले विगतमा प्रतिपक्षमा हुँदा केही सांसदहरूले नीलो स्कार्प बाँधेर विरोध जनाएको र अहिले पनि संसद्‌भित्र प्लेकार्ड प्रदर्शन भइरहेको प्रसंग उठाउँदै दुवै गतिविधि संसदीय मर्यादाविपरीत भएको टिप्पणी गरे।

राईले आफूले गरेका गतिविधिलाई उचित र अहिलेका विरोधका स्वरूपलाई अनुचित भन्न नमिल्ने उल्लेख गर्दै सभामुखले संसद्को गरिमा जोगाउने भूमिका प्रभावकारी रूपमा निर्वाह गर्नुपर्ने बताए।

उनले संसद्‌मा देखिएको विरोधको शैलीले जनतामाझ संसदीय अभ्यासप्रति नकारात्मक सन्देश जान सक्ने भन्दै सबै दल र सांसदहरूलाई मर्यादित व्यवहार प्रदर्शन गर्न आग्रह गरे।

संसद्‌को गरिमा कायम राख्न सभामुखले स्पष्ट निर्देशन र प्रभावकारी व्यवस्थापन गर्नुपर्ने उनको भनाइ थियो।