काठमाडौँ — प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । नियमावलीमा व्यवस्था भएबमोजिम प्रधानमन्त्रीसँगको प्रश्नोत्तर सत्र सञ्चालन गर्न माग गर्दै विपक्षी दलहरूले सदनमा अवरोध गरेपछि बैठक स्थगित गरिएको हो ।
प्रतिनिधिसभा नियमावलीको नियम ५६ अनुसार प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने कानुनी व्यवस्था रहेको छ । चालु महिनाको ७ गते घर्किसक्दा पनि सरकार र संसद् सचिवालयले उक्त व्यवस्था कार्यान्वयनमा उदासीनता देखाएको भन्दै विपक्षी सांसदहरूले आसनबाट उठेर विरोध जनाएका थिए ।
विपक्षी दलका सांसदहरूले नियमावलीको व्यवस्थालाई अनदेखा गरिएको र संसदीय सुशासनको खिल्ली उडाइएको आरोप लगाएका छन् । उनीहरूले प्रधानमन्त्रीलाई प्रश्न सोध्न पाउने सांसदहरूको अधिकार तत्काल सुनिश्चित गर्न माग गर्दै संसद् अवरुद्ध पारेका हुन् ।
विपक्षी दलहरूको लगातारको नाराबाजी र अवरोधपछि बैठकलाई सुचारु रूपमा अघि बढाउन नसक्दा सभामुख डोलप्रसाद अर्यालले १५ मिनेटका लागि बैठक स्थगित गर्ने घोषणा गरेका हुन् । यसबीचमा दलहरूबीच सहमति जुटाउने प्रयास भइरहेको बुझिएको छ ।

