काठमाडौँ । संसद्मा जारी राजनीतिक गतिरोध र विपक्षीको अवरोधलाई निकास दिन सभामुख डोलप्रसाद अर्याल र प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहबीच सिंहदरबारमा भेटवार्ता भएको छ ।
प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर सत्र माग गर्दै संसद् अवरुद्ध गरेपछि सभामुख अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए । बैठक रोकिएलगत्तै सभामुख अर्याल संसद्को गतिरोध फुकाउने प्रयास स्वरूप प्रधानमन्त्री शाहलाई भेट्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार पुगेका हुन् ।
के भयो छलफल ?
सभामुखको सचिवालयका अनुसार भेटवार्तामा संसद्को चालु गतिरोध अन्त्य गर्ने र समसामयिक राजनीतिक विषयहरूमा गहन छलफल भएको छ । सभामुख अर्यालले नियमावली बमोजिम प्रधानमन्त्रीसँगको प्रश्नोत्तर व्यवस्थाका लागि विपक्षीले उठाएको माग र सदनको वस्तुस्थितिबारे प्रधानमन्त्री शाहलाई अवगत गराउनुभएको थियो ।
ठोस सहमति जुट्न बाँकी
सभामुखले सदन खुलाउने प्रयास गरे तापनि प्रधानमन्त्री आजै संसद् बैठकमा उपस्थित हुने वा नहुने भन्ने विषयमा भने अझै ठोस सहमति जुटिनसकेको सचिवालयले जनाएको छ । संसद् सुचारु गर्ने विषयमा सरकार र प्रतिपक्षी दलहरूबीच थप संवाद आवश्यक देखिएकाले स्थगित बैठक केही समय लम्बिन सक्ने अनुमान गरिएको छ ।

