काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयको टोलीले घुस रकमसहित श्रीदेव यादव लाई रंगेहात पक्राउ गरेको छ।

प्राप्त जानकारीअनुसार आर्थिक वर्ष २०८१/०८२ मा सोनमा गाउँपालिका वडा नं. २ स्थित मस्जिददेखि साविरको घरसम्म सडक ढलान निर्माण कार्यका लागि विनियोजित बजेटअन्तर्गत योजना सञ्चालन गरिएको थियो। उक्त योजनाको उपभोक्ता समितिको अध्यक्षमा सहिना खातुन चयन भएकी थिइन्।

सोनमा गाउँपालिकासँग सम्झौता भई कार्यादेशअनुसार निर्माण कार्य सम्पन्न भएपछि भुक्तानीका लागि गाउँपालिकामा जाँदा विभिन्न कारण देखाउँदै रकम रोकिएको आरोप छ। भुक्तानी प्रक्रिया अघि बढाइदिने भन्दै प्रमुख प्रशासकीय अधिकृत यादवले उपभोक्ता समितिका अध्यक्षसँग रु. ७२ हजार घुस माग गरेको उजुरीपछि अख्तियारले निगरानी बढाएको थियो।

त्यसक्रममा महोत्तरीको औरही रोड क्षेत्रबाट सेवाग्राहीसँग रु. ७२ हजार घुस लिइसकेको अवस्थामा अख्तियारको टोलीले यादवलाई पक्राउ गरेको जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।