काठमाडौ । ललितपुरको ग्वार्कोस्थित किष्ट टिचिङ हस्पिटलले अंग प्रत्यारोपण सेवामा एकपछि अर्को ऐतिहासिक सफलता हासिल गर्दै १५औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको छ।

अस्पतालको ग्यास्ट्रो विभागको नेतृत्वमा भएको यस सफल शल्यक्रियासँगै किष्टले नेपालमै अंग प्रत्यारोपण सेवामा उच्चतम सफलता दरको कीर्तिमान कायम गर्न सफल भएको हो।

​सन् २००६ देखि निरन्तर रूपमा बहुविशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्दै आएको किष्ट हस्पिटलले पछिल्लो समय नेपालको अंग प्रत्यारोपण क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको छ। अस्पतालमा कलेजो मात्र नभई मिर्गौला प्रत्यारोपण सेवा समेत सफलतापूर्वक सञ्चालन भइरहेको छ। अस्पताल प्रशासनका अनुसार हालसम्म १९८ वटा मिर्गौला प्रत्यारोपण सफलतापूर्वक भइसकेका छन्।

छोरीले दिइन् बुबालाई नयाँ जीवन
​यस पटकको कलेजो प्रत्यारोपण विशेष भावनात्मक रूपमा महत्त्वपूर्ण र उदाहरणीय रह्यो। एक जना छोरीले आफ्ना बुबालाई कलेजो दान गरेर नयाँ जीवन दिएकी छिन्। चिकित्सा क्षेत्रको सफलता मात्र नभएर यो घटना नेपाली समाजमा मानवता, पारिवारिक माया र समर्पणको एक अनुपम र गहिरो प्रतीक बनेको अस्पतालले जनाएको छ।

यो केवल एउटा जटिल शल्यक्रियाको सफलता मात्र होइन, यो चिकित्सा प्रविधिमा हाम्रो पकड र कलेजो दान गर्ने छोरीको महान् मानवीय भावनाको उच्च कदर भएको अस्पताल प्रशासनले बताएको छ।

आधुनिक प्रविधि र विशेषज्ञको टिमवर्क
​किष्ट ग्यास्ट्रो सेन्टर अत्याधुनिक उपकरण, अनुभवी सर्जनहरू तथा समर्पित मेडिकल टिमका कारण देशकै भरपर्दो प्रत्यारोपण केन्द्रका रूपमा स्थापित हुँदै गएको छ।

निरन्तरको प्राविधिक सुधार, अन्तर्राष्ट्रिय स्तरको प्रविधिको प्रयोग र अनुभवी विशेषज्ञहरूको उत्कृष्ट टिमवर्कका कारण नै जटिल शल्यक्रियाहरूमा समेत उच्च सफलता मिलेको अस्पतालको दाबी छ।

​यो ऐतिहासिक उपलब्धि सम्पूर्ण मेडिकल टिमको अहोरात्र खटाई, बिरामी तथा दाताहरूको अस्पतालप्रतिको बलियो विश्वासको परिणाम भएको र यसले भविष्यमा अझ धेरै नागरिकको ज्यान बचाउन थप हौसला र प्रेरणा मिलेको हस्पिटलले जनाएको छ।

नेपालमै विश्वस्तरीय स्वास्थ्य सेवा र न्यून लागतमा अंग प्रत्यारोपण सेवा उपलब्ध गराएर किष्ट टिचिङ हस्पिटलले देशको स्वास्थ्य क्षेत्रमा नयाँ मापदण्ड स्थापित गरिरहेको छ।