काठमाडौं । रुसले आइतबार बिहान युक्रेनको राजधानी किभमा ठूलो मिसाइल तथा ड्रोन आक्रमण गरेको छ। युक्रेनी अधिकारीहरूका अनुसार आक्रमणमा परी कम्तीमा पाँच जना घाइते भएका छन्।
पूर्वी युक्रेनमा रुसको नियन्त्रणमा रहेको क्षेत्रमा भएको आक्रमणको बदला लिने चेतावनीपछि रुसले किभमा ब्यालिस्टिक मिसाइल प्रहार गरेको हो। विस्फोटका कारण केही सरकारी तथा आवासीय भवनहरू हल्लिएका छन् भने सर्वसाधारणले भूमिगत मेट्रो स्टेशनमा शरण लिएका छन्।
किभ सैन्य प्रशासनका प्रमुख तिमुर तकाचेन्कोले राजधानीमा ठूलो मात्रामा मिसाइल आक्रमण भएको पुष्टि गरेका छन्। किभका मेयर भिटाली क्लित्स्कोका अनुसार घाइतेमध्ये एक जनालाई अस्पताल भर्ना गरिएको छ।
आक्रमणपछि किभको पोडिल्स्की र शेभचेन्किभ्स्की जिल्लामा मिसाइलका भग्नावशेष खस्दा आगलागीसमेत भएको जनाइएको छ। उद्धार तथा मेडिकल टोली घटनास्थलमा परिचालन गरिएको छ।
यसअघि युक्रेनी सेनाले रुस नियन्त्रित पूर्वी क्षेत्रमा ठूलो ड्रोन आक्रमण गरेको थियो। रुसका अनुसार उक्त आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको थियो भने धेरै घाइते भएका थिए। युक्रेनले भने आफूहरूले रुसी सैन्य लक्ष्यलाई मात्र निशाना बनाएको दाबी गरेको छ।
पछिल्ला महिनाहरूमा रुस–युक्रेन युद्ध थप चर्किँदै गएको छ, जसले क्षेत्रीय सुरक्षा र अन्तर्राष्ट्रिय चिन्ता बढाएको छ।

