काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दविरुद्ध पद दुरुपयोगसहित विभिन्न गम्भीर आरोप लागेपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पाँच दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ।
राखेपले क्यानलाई पत्राचार गर्दै अध्यक्ष चन्दविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीका सम्बन्धमा तथ्यसहित राय, प्रतिक्रिया र प्रमाणित कागजात पेश गर्न भनेको हो।
अख्तियारमा २०८३ वैशाख १६ गते दर्ता भएको उजुरीमा क्यान नेतृत्वमाथि सार्वजनिक कोषको दुरुपयोग, अमेरिकामा सम्पन्न विश्वकप भ्रमणमा अनियमितता, कर्मचारी नियुक्ति प्रक्रियामा पक्षपात, अपाङ्गता भत्ताको दुरुपयोग तथा वार्षिक साधारण सभा, जर्सी र टिकट व्यवस्थापनमा अनियमितता गरेको आरोप लगाइएको छ।
उक्त उजुरीबारे अख्तियारले वैशाख २९ गते युवा तथा खेलकुद मन्त्रालयलाई जानकारी गराएको थियो। त्यसपछि मन्त्रालयले वैशाख ३१ गते राखेपलाई आवश्यक छानबिन गरी १० दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिएको थियो।
सोही निर्देशनअनुसार राखेपले गत बिहीबार क्यानलाई पत्र पठाउँदै उजुरीमा उल्लेखित सबै विषयमा बुँदागत स्पष्टिकरण र प्रमाण पेश गर्न भनेको हो। अब क्यानले पाँच दिनभित्र आफ्नो आधिकारिक जवाफ बुझाउनुपर्नेछ।
यस घटनाले नेपाली क्रिकेट प्रशासनभित्रको पारदर्शिता र सुशासनमाथि गम्भीर प्रश्न उठाएको छ। राखेपको आगामी निर्णय र क्यानको जवाफले यस विषयमा थप स्पष्टता ल्याउने अपेक्षा गरिएको छ।

