काठमाडौ । पोखरा महानगरपालिकाले वर्षौंदेखि विवादमा रहेको फिर्केखोला क्षेत्रमा अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउन आइतबारदेखि डोजर अभियान सुरु गरेको छ। खोलाघर संरक्षण र फेवाताल प्रदूषण नियन्त्रण गर्ने उद्देश्यसहित महानगरले तीन स्थानबाट एकैसाथ संरचना हटाउन थालेको हो।

महानगर प्रमुख धनराज आचार्यको नेतृत्वमा बिहान १० बजेदेखि सुरु गरिएको अभियानअन्तर्गत जिरो किलोमिटरदेखि सिर्जना चोकसम्मका खोलामाथि बनेका संरचनामा पहिलो चरणमा डोजर चलाइएको छ। त्यसैगरी वडा नम्बर २ र १८ को सीमाना अँधेरी कुनादेखि तथा वडा नम्बर ४ र ५ को सीमाना फिर्केपुल–बूढानीलकण्ठ मन्दिर क्षेत्रबाट पनि संरचना भत्काउने काम अघि बढाइएको छ।

पोखरा महानगरपालिकाका अनुसार २०८० साल असारमा सम्पन्न फिर्केखोलाको नापजाँच प्रतिवेदनले खोलाघरभित्र १६० वटा विभिन्न प्रकृतिका संरचना रहेको देखाएको थियो। सोही प्रतिवेदनका आधारमा अतिक्रमण हटाउने प्रक्रिया अघि बढाइएको हो।

महानगरले २०८० भदौ २ गते खोलाको सीमांकनका लागि ५८८ वटा सीमास्तम्भ गाडेको थियो भने त्यसपछि कात्तिक १० गते ३५ दिने सूचना जारी गर्दै खोलाघरभित्रका संरचना हटाउन आग्रह गरेको थियो। सूचनाविरुद्ध उच्च अदालत पोखरामा मुद्दा दायर भए पनि अदालतले महानगरको निर्णय रोक्न अस्वीकार गरेपछि अतिक्रमण हटाउने कानुनी बाटो खुलेको हो।

फेवातालमा मिसिने फिर्केखोला अतिक्रमण र प्रदूषणका कारण लामो समयदेखि संकटमा पर्दै आएको छ। घरायसी फोहोर पानी, बजारको ढल तथा प्लास्टिकजन्य फोहोर खोलामा मिसिँदा तालको जलगुणस्तरमा नकारात्मक असर परेको महानगरले जनाएको छ। खोला हुँदै बगेर गएको माटो र फोहोरका कारण पोखरा–६ र १७ को गाईघाट क्षेत्रमा मात्रै ११ रोपनीभन्दा बढी ताल क्षेत्र चौरमा परिणत भएको बताइएको छ।

वडा नम्बर १८ बाट सुरु भएर वडा २, ४, ५, ७, ८, ६ र १७ हुँदै फेवातालमा पुग्ने फिर्केखोलाको जैविक विविधतासमेत प्रभावित भएको महानगरको भनाइ छ। महानगरले खोलाको न्यूनतम मापदण्ड ६ मिटर कायम गरेको जनाएको छ, जसअनुसार आगामी दिनमा थप संरचना हटाउनुपर्ने अवस्था आउन सक्ने बताइएको छ।

महानगरको यो अभियानलाई फेवाताल संरक्षण र शहरी वातावरण सुधारका लागि महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।