काठमाडौं । नेकपा एमालेको जारी सचिवालय बैठकमा अध्यक्ष केपि शर्मा ओलि माथि नेतृत्व हस्तान्तरणको दबाब बढ्दै गएको छ। बैठकमा अधिकांश सचिवालय सदस्यहरूले ओलीलाई मार्गप्रशस्त गर्न सुझाव दिएका छन् भने ओलीले भने कुनै पनि हालतमा नेतृत्व नछाड्ने अडान दोहोर्‍याएका छन्।

भक्तपुरको गुन्डुमा जारी बैठकमा महासचिव शंकर पोखरेल, उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ र विष्णु पौडेललगायत नेताहरूले पार्टीको वर्तमान संकट समाधानका लागि नेतृत्वमा नयाँ व्यवस्था आवश्यक रहेको धारणा राखेका छन्। ओलीको पक्षमा भने उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र सचिव महेश बस्नेत खुलेर उभिएका छन्।

यसक्रममा सचिव महेश बस्नेतले २४ बुँदे धारणा प्रस्तुत गर्दै अध्यक्ष ओलीको बचाउ गरेका छन्। उनले ओलीलाई प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा गठन भएको सरकारले पक्राउ गरेको, अदालतबाट रिहा भएपछि पनि स्वास्थ्य समस्यासँग जुधिरहेको अवस्थामा पार्टीले नेतृत्वको रक्षा गर्नुपर्ने बताएका छन्।

बस्नेतले संकटका बेला अध्यक्ष परिवर्तनको बहस गैरजिम्मेवार भएको टिप्पणी गर्दै पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्। साथै, उनले कार्यवाहक अध्यक्ष रामबहादुर थापा ‘बादल’ले उठाएको बाह्य प्रभाव र राज्य संयन्त्रको दुरुपयोगसम्बन्धी धारणा पनि समर्थन गरेका छन्। एमालेभित्र नेतृत्व र भविष्यको दिशा तय गर्ने विषयमा बहस तीव्र बन्दै गएको छ।